Tuesday 12 April 2011

देउवा पक्षीय भेला/ 'महिला संघ र तरुण दल विघटन प्रस्ताव आए प्रतिवाद गर्ने'

कुलचन्द्र न्यौपाने
काठमाडौं, चैत्र ३० - कांग्रेस सभापति सुशील कोइरालाको भ्रातृसंस्था विघटन गर्ने प्रस्तावप्रति विरोध जनाउँदै नेता शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यको मंगलबार बसेको भेलाले महिला संघ र तरुण दल विघटन गर्ने प्रस्ताव ल्याए असफल बनाउन कडा प्रतिवाद गर्ने रणनीति बनाएको छ । नेविसंघ विघटन भने अनुमोदन भइसकेको छ ।
देउवा निवास बूढानीलकण्ठमा भएको भेलाले महिला संघ र तरुण दल विघटन गर्न नदिई हालकै कार्यसमितिबाटै अधिवेशन गराउने दिशामा कोइरालालाई मनाउनुपर्ने निष्कर्षसमेत निकालेको छ ।
त्यसका लागि नेता देउवालाई संसदीय दलका नेता रामचन्द्र पौडेलसँग छलफल गर्न समेत सुझाव दिएको स्रोतले बतायो । पौडेल अहिलेको समयमा भ्रातृसंस्था विघटनको मुद्दा ल्याएर पार्टीमा विभाजन गर्न नहुने भन्दै विवाद मिलाउन मध्यमार्गी भूमिकामा उभिएका छन् ।
आइतबारको बैठकमा कोइरालाले म्याद सकिएको र प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै तीनवटै भ्रातृसंस्था विघटन गर्न प्रस्ताव गरेका थिए । त्यसको विरोधमा देउवा पक्षीय सदस्यले बैठक बहिष्कार गरेका थिए ।
 भेलामा बोल्ने केही सदस्यले भने भ्रातृसंस्था विघटन गरेर पार्टी एकलौटी गर्न खोजेको आरोप लगाउँदै नेविसंघको सामानान्तर संगठन बनाउनुपर्ने भन्दै आक्रोश पोखेका थिए । त्यसो नगरी पार्टी मिलाउने दिशामा लैजानुपर्नेमा बहुमत सदस्यको जोड रहेको थियो । बहिष्कारपछि तरुण दल र महिला संघको अधिवेशन वर्तमान कार्यसमितिलाई गर्न जिम्मेवारी दिने गरी विवाद मिलाउन दुवै पक्षका नरम धारका नेताहरू लागेका छन् । कोइरालाले भने तरुण दल र महिला संघ पनि विघटन गरी तयारी समिति गठन गरेर अधिवेशन गराउनुपर्ने योजनामा छन् ।
'तरुण दल र महिला संघ विघटन गर्न प्रस्ताव आएमा कडा प्रतिवाद गरिनेछ,' देउवा पक्षीय केन्द्रीय सदस्य एनपी सावदले भने, 'राष्ट्रिय संकटका विषयमा छलफल गर्नुपर्ने बेलामा भ्रातृसंस्था विघटनको प्रस्ताव ल्याएर पार्टीलाई कमजोर बनाउनु खोज्नु दुर्भाग्य हो ।'
भेलाले भ्रातृसंस्था विघटन गर्ने प्रस्तावको विरोधमा आइतबार गरिएको बैठक बहिष्कारको कदमको समर्थन जनाउने र त्यही दिशामा वैशाख २ गतेको बैठकमा नेता देउवाले धारणा राख्ने निर्णय भएको सावदले बताए । 'अबको बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणको मुद्दालाई प्राथमिकता दिनुपर्छ भन्नेमा जोड रह्यो,' उनले भने, 'शीर्ष नेतृत्वसँग छलफल र संवाद गरेर मात्रै पार्टी सभापति अघि बढ्नुपर्छ । एकल ढंगबाट अघि बढ्दा पार्टी कमजोर हुने मात्रै होइन राष्ट्रिय मुद्दामा कांग्रेसले भूमिका निर्वाह गर्नसमेत सक्दैन भन्नेमा भेलाको निष्कर्ष रह्यो ।'
भेलामा नेविसंघ अधिवेशनका लागि तयारी समिति बनाउन महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको राजीनाबारे समेत कुरा उठाइएको थियो ।
राजीनामाको विषयमा अहिल्यै निर्णयमा पुग्न नहुने धेरैको सुझाव थियो । पाण्डेले बैठकमा आवश्यक परेमा राजीनामा दिनसमेत आफू तयार रहेको बताएको स्रोतले बतायो । तर उनले भने यसबारेमा कुनै प्रतिक्रिया दिन मानेनन् ।
संस्थापन पक्षीय केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भ्रातृसंस्थाको महाधिवेशन गराउनुपर्छ भन्नेमा दुवै पक्षमा कुनै विवाद नरहेको बताउँदै यसको व्यवस्थापनमा देखिएको कमजोरीले मात्रै बैठक बहिष्कार हुन पुगेको बताए ।
कोइरालाले भने देउवा पक्षबाट आफ्नो 'हातखुट्टा बाँध्ने' काम भएको बताउँदै आएका छन् । उनले आउने बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणमा पार्टीको धारणा ल्याएपछि तरुण दल र महिला संघ विघटन गर्ने र पदाधिकारी मनोनयन गर्ने प्रस्तावसमेत निर्णयका लागि प्रस्तुत गर्ने सुरमा रहेका अर्का एक केन्द्रीय सदस्यले बताए ।

No comments:

Post a Comment